google search engine

Wednesday, November 25, 2009

मन परेकालाई अपहरण गरेर बिहे गर्ने गाउँको प्रचलन


                आफूसँग बिहे नगरेको भन्दै सोमबार बिहान विद्यालय गइरहेकी १८ वषीर्या छात्रा कलावती ताम्राकारको अपहरणमा संलग्न नरेन्द्र ताम्राकारलाई प्रहरीले पक्राउ गरेको छ। छात्राका परिवारजनले दिएको उजुरीका आधारमा खोजतलासमा गएको प्रहरी टोलीले अपहरित छात्रालाई डडेल्धुरा जिल्लाको अजयमेरु गाविसबाट सोमबार राति ११ बजे उद्धार गरेको थियो। अपहरणकारी नरेन्द्रले छात्रा कलावतीलाई सोही गाविसमा बस्ने आफ्नै बहिनीको घरमा लुकाई राखेको अवस्थामा प्रहरीले उद्धार गरेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी नायब उपरीक्षक चक्रबहादुर सिंहले बताए। सोही घरमा अपहरित छात्रासँगै रहेका अपरहणका मुख्य नाइके नरेन्द्र समातिए पनि अपहरणमा संग्लन अन्य चार जना युवक भने फरार छन्।
             उद्धारपछि मंगलबार दिउँसो जिल्ला प्रहरी कार्यालय ल्याइएकी छात्रा कलावतीले विद्यालय जाँदै गर्दा बिहान ७ बजे नरेन्द्र ताम्रकारसहित आएका पाँच जनाको समूहले आफूलाई जबर्जस्ती लगेको बताइन्। चार जना केटी साथीसँगै दैनिकजसो विद्यालय गइरहेका बेला उनी अपरहणमा परेकी थिइन्। घरबाट आधा घण्टामाथि जंगलको बाटो जाँदै गर्दा एकाएक समातेर तान्दै लैजान थालेपछि रोईकराई गर्दासमेत नछोडेको उनले बताइन्। अमरगढी नगरपालिका वडा नं. ६ बस्ने नरेन्द्र ताम्राकारको परिवार असोज अन्तिम साता विवाहका लागि माग्न आएको तर आफूले विवाह गर्न अस्वीकार गरेकाले बारम्बार दबाब दिँदा पनि बिहे गर्न नमानेपछि जबर्जस्ती विवाह गर्न आफूलाई अपहरण गरेको कलावतीले बताइन्।
               अपरहणमा संलग्न ताम्राकारलाई प्रहरी हिरासतमा लिई अनुसन्धान थालिएको र प्रचलित कानुनअनुसार कारबाही गरिने प्रहरीले जनाएको छ। ‘फरार रहेका अन्य अभियुक्तहरूको समेत खोजी भइरहेको छ’ -उनले भने। अभियुक्त नरेन्द्रले भने आफूलाई मन परेकी युवतीलाई सकभर मागेर बिहे गर्ने र नमानेमा जबर्जस्ती बिहे गर्ने गाउँको परम्परा रहेकाले आफूले उनलाई लिएर गएको प्रहरीलाई बताएका छन्। मन परेकी केटीलाई अपहरण गरेर विवाह गर्नु सामान्य भएको बताउने सोही गाउँका अगुवा धर्म ताम्राकारले यसअघि पनि थुप्रै केटीहरूलाई गाउँका केटाहरूले त्यसरी नै विवाह गरेको जानकारी दिँदै प्रहरीमा पुगेको यो घटना भएको बताए।
                                                                                                                                        -श्रोत नेस

No comments:

Post a Comment